काठमाडौं। लामो समयदेखि अलमलमा परेको राष्ट्रिय गौरवको आयोजनामध्ये नवलपरासीको हुलाकी सडकको निर्माण कार्यले तिव्रता पाएको छ। पश्चिम नवलपरासीको सदरमुकाम परासीदेखि बर्दघाटको नारायणचोक हुँदै सुस्ता गाउँपालिकाको रानीनगरसम्मको हुलाकी सडक निर्माणको काम लामो समयसम्म अलपत्र परेको अवस्थामा निर्माण हुन बाँकी रहेको नारायणचोकदेखि रानीनगरसम्मको सडक खण्डमा निर्माण कार्यले तीव्रता पाएको हो।
पछिल्लो समयमा कोरोना सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि हुलाकी सडकको दोस्रो खण्डको कामले तीव्रता पाएको हुलाकी राजमार्ग निर्माण आयोजना कार्यालय कपिलवस्तुले जनाएको छ।
दोस्रो खण्डका रूपमा रहेको बर्दघाट नगरपालिका–१३, नारायणचोकदेखि सुस्ताको रानीनगरसम्मको १५ किलोमिटर सडक खण्डको निर्माण कार्यले अहिले तीव्रता पाएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ। उक्त सडक खण्डको निर्माणको काम २०७६ चैतदेखि सुरु गरी तीन वर्षभित्र सकिसक्ने गरी ठेक्का दिइएको भए पनि सडकको काम समयमा सकिने अवस्था भने देखिँदैन। दोस्रो खण्डको सडक विस्तारको काम बज्रगुरु महालक्ष्मी जेभी निर्माण कम्पनीले ठेक्का पाएको छ। सो निर्माणको अवधि सकिन लाग्दा अहिले सडक विस्तारको काम जम्मा १७ प्रतिशत मात्र भएको छ।
सडक विस्तारको काममा सडकको दुवैतर्फ माटो भर्ने, नाला निर्माण गर्नेलगायतका काम भइरहेको छ भने सडक निर्माणको काममा नदीजन्य पदार्थको अभावका कारण समस्या आउने गरेको निर्माण कम्पनीले जनाएको छ। नेपाल सरकारको ६० करोड रुपियाँको लगानीमा बन्न लागेको यो सडकको निर्माणले पूर्व–पश्चिम सडकको बर्दघाटदेखि त्रिवेणीधाम आउने पर्यटकका लागि र भैरहवातर्फबाट आउने पर्यटकका लागि पनि यात्रा सहज हुने विश्वास गरिएको छ।