धनुषा। बर्दिबास नगरपालिका–१४ मा बन्न लागेको जनकपुर–जयनगर रेल्वे स्टेशन क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिएका छन्। मुआब्जा कम भएपछि स्थानीय रेल्वे स्टेशन नै नचाहिने भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।
सरकारले धेरै कम मुआब्जा घोषणा गरेर जग्गा अधिग्रहणको प्रक्रिया थालेको उनीहरूको आरोप छ।
उनीहरुले, ‘सुकुम्बासी बनाउन पाइदैन, रेल्वे स्टेशन चाहिँदैन’, ‘बस्ती उठाउन पाइदैन, रेल्वे स्टेशन चाहिँदैन’, ‘अति भयो अति भयो, मेरो कर्जा कसले दिने’ लगायत लेखिएको बोर्ड सहित आन्दोलन गरिरहेका छन्।
पूर्व–पश्चिम राजमार्गको पाँच सय मिटर दक्षिणमा सरकारले बनाउन लागेको रेल्वे स्टेशनका लागि ६० बिघा जग्गा अधिग्रहण प्रक्रिया शुरु गरिएको छ तर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने मुआब्जा समितिले अति कम मूल्यमा जग्गा अधिग्रहण थालेको स्थानीयको आरोप छ।
चलनचल्तीमा प्रतिकठ्ठा ६० देखि ७० लाखसम्म मूल्य रहेकोमा सरकारले १२ देखि १४ लाख प्रतिकठ्ठा मात्र मूल्य दिएको स्थानीयले बताए। त्यहि रकम पनि किस्ताबन्दीमा दिने हुँदा आफूहरु अन्त गएर जग्गा किन्न नसक्ने उनीहरुको भनाइ छ।
जनकपुर–जयनगर रेल सञ्चालनमा आइसकेको छ। अहिले धनुषाको कुर्थासम्म रेल चलिरहेको छ। महोत्तरीको रेल्वे स्टेशन पनि स्थानीयको जग्गामा नै रहेको छ।