काठमाडौं । रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत आयोजना अध्ययन (डीपीआर) का लागि द्विपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । दिल्लीमा बुधबार सुरु नेपाल–भारत रेलसम्बन्धी संयुक्त कार्यदलको बैठकमा १८ महिनामा डीपीआर तयार पर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
अब आयोजनाको काम अघि बढाउन बाटो खुलेको रेल विभागका महानिर्देशक दीपक भट्टराईले बताए। यसमा भारत सरकारको प्राविधिक र आर्थिक सहयोग हुनेछ।
डीपीआरको जिम्मा भारत सरकारको कोंकर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई दिइएको छ। यसअघि प्रारम्भिक सम्भाव्यता अध्ययन पनि सोही कम्पनीले गरेको थियो।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा, रेल विभागका महानिर्देशक भट्टराई, सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकार, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहभागी छन्। कर्पोरेसनको प्रतिवेदनका आधारमा करिब १ सय ३५ किलोमिटरको काठमाडौं–रक्सौल रेलमार्गको प्रस्ताव गरिएको थियो।