काठमाडौं। सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङमार्गको डिजाइन तथा सर्वे कार्य सुरु भएको छ। सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भई कम्पनीले सुरुङ निर्माण गर्ने ठाउँको सर्वे तथा डिजाइनको काम सुरु गरेको हो।
उक्त सुरुङमार्गको निर्माण इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा भइरहेको हुनाले सम्झौता अनुसार सर्वे, डिजाइन तथा पूर्वतयारीका लागि नौ महिनाको समय छुट्याइएको छ। सोहीअनुसार निर्माण कम्पनीले अहिले काम सुरु गरेको हो।
सर्वे, डिजाइन तथा पूर्वतयारीको काम सम्पन्न भएपछि आगामी आर्थिक वर्षको तेस्रो चौमासिकदेखि सुरुङ खन्ने काम सुरु हुने बताइएको छ। निर्माण कम्पनीले पाँच वर्षभित्र सुरुङमार्ग निर्माण गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने हुन्छ। सुरुङमार्ग निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन कम्पनीले पाएको छ।
कम्पनीले सात अर्ब ३४ करोड २१ लाख चार हजार ७३४ रुपियाँमा ठेक्का पाएको हो। सरकारले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा नै यो सुरुङमार्ग निर्माण कार्यलाई समेटेको थियो।