काठमाडौं। रात्रिकालीन आन्तरिक हवाई उडान सेवाको निर्णयप्रति हवाई कम्पनीहरुले आपत्ति जनाएका छन्। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति वायुसेवा सञ्चालक संघ (एओन) ले प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो।
विभिन्न प्राविधिक कारणले गर्दा हाललाई रात्रिकालीन सेवा प्रदान गर्न नसक्ने संघले जनाएको छ। रात्रिकालीन उडान सम्बन्धी पूर्वाधार र सम्भावना लगायतका विषयमा छलफल गर्न क्यानसँग समय माग गरेकोमा क्यानले वेवास्ता गरी नयाँ तालिका पठाएको भन्दै संघले नयाँ सल्ट अनुसारको तालिकामा संलग्न हुन नसक्ने जनाएको छ।
संघले वैशाख ३ गतेकै सल्ट सम्बन्धी व्यवस्था हाललाई लागू गर्न आग्रह समेत गरेको छ। क्यानले वैशाख ३ कै स्टल जारी नगरी नयाँ सल्ट लागू गरेमा संघका सदस्य वायुसेवा कम्पनीहरु बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सका सम्पूर्ण उडानहरु स्थगित गर्ने संघले चेतावनी समेत दिएको छ। संघले नयाँ सल्ट संशोधन नभएसम्मका लागि सम्पूर्ण आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएको हो।
क्यानले वैशाख १४ गते पत्र काट्दै हवाई कम्पनीहरुलाई १५ गतेदेखि नियमित दैनिक १८ घण्टा रात्रिकालीन सेवा समेत हुने गरी उडान सेवा सञ्चालन गर्न उडान सम्बन्धि नयाँ स्लट पठाएको थियो।
.jpg)