काठमाडौं। जनकपुर–जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुग्यो। सो खण्डमा चलाउन दुईवटा रेल किनिएका भए पनि एउटा मात्र सञ्चालनमा छ। अर्को रेल सशस्त्र प्रहरी बलको सुरक्षामा धनुषाको इनरुवा रेल्वे स्टेसनमा पार्किङ गरी राखिएको छ।
सेवा सञ्चालनका लागि दुईवटा रेल सेट खरिद गरिए पनि अहिलेसम्म एउटा रेल मात्र व्यावसायिक रूपमा गुड्न सकेको छ। एक अर्ब तीन करोड रुपियाँमा किनिएका दुई रेलमध्ये एउटा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०७८ चैत १९ गते संयुक्त रूपमा भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्नुभएको थियो। त्यसपछि चैत २० गतेदेखि दुईवटामध्ये एउटा रेल यात्रुसहित व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो।
दुई सेट रेलमध्ये अहिलेसम्म अर्को रेल किन सञ्चालनमा आउन सकेन भन्ने जिज्ञासामा रेल विभागका महानिर्देशक दीपक भट्टराईले सो रेल्वे खण्डमा मात्र एक सेट रेल नै सञ्चालनमा आउने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “दुईवटा रेल सेटमध्ये एउटा ‘सर्भिसिङ’ मा गएपछि मात्र अर्को सञ्चालनमा ल्याइने हो। अहिले सञ्चालनमा रहेको रेल ‘सर्भिसिङ’ वा मर्मत सम्भारमा गएपछि मात्र पार्किङमा राखिएको रेल सञ्चालनमा आउने हो।
” उहाँले अगाडि भन्नुभयो, “दुईवटा रेल ल्याएका कारण नै त्यही हो। एउटा चल्ने अर्को स्ट्यान्डबाई बस्ने हो। एउटा सर्भिसिङमा गएको बेला अर्को चल्ने हो। सिस्टमै त्यही हो। सर्भिसिङमा गएको बेला वा बिग्रेको बेला सेवा रोक्ने कुरा त हुँदैन नि। त्यही भएर एउटा स्ट्यान्डबाई राखिएको हो।”
मर्मतका लागि भारतकै भर
नेपाली झन्डा अङ्कित सो रेल सञ्चालनमा आएको एक महिना बितिसक्दा पनि ‘सर्भिसिङ’ वा मर्मत सम्भारका लागि भारतीय वर्कसप र प्राविधिककहाँ लैजानुपर्ने बाध्यता छ। नेपालमा रेलसम्बन्धी वर्कसप र प्राविधिक नभएका कारण ‘सर्भिसिङ’ वा मर्मत सम्भारका लागि भारतीय वर्कसप र प्राविधिककहाँ लैजानुपर्ने बाध्यता रहेको महानिर्देशक भट्टराईले बताउनुभयो। उहाँका अनुसार जनकपुरमा रेलसम्बन्धी वर्कसप निर्माणको तयारी भइरहेको छ।
उक्त रेल सेट खरिद गर्नका लागि सन् २०१९ को मेमा ८४ करोड ६५ लाख रुपियाँमा भारतीय कम्पनी कोङ्कण रेल्वे कर्पोरेसनसँग दुईवटा डेमो रेल खरिद गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार भन्सार र मूल्य अभिवृद्धि करसहित कुल एक अर्ब तीन करोड रुपियाँमा खरिद गरिएको थियो। ती रेल गत वर्ष असोज २ गते भारतबाट जनकपुर आइपुगेका थिए। आजको गार्खापत्र दैनिकबाट