काठमाडौं। गौतमबुद्ध विमानस्थलमा तत्काल सातामा तीन वटा मात्र उडान हुने भएको छ। बुद्ध पूर्णिमाको दिन अर्थात् जेठ २ गतेदेखि जजिराले साताको तीन उडान गर्ने भएको हो।
कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हप्ताको ३ उडान गर्ने अनुमति पाएको छ। एयरलाइन्सको भैरहवा–कुवेत भाडा हाललाई ३० हजार २१४ रुपैयाँ तोकिएको छ। भैरहवा कुवेत उडान समय साढे ५ घण्टा हुनेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उडान अनुमति शाखाका डेपुटी म्यानेजर ज्ञानेन्द्र भुलले हालसम्म जजिरा एयरलाइन्सले मात्रै अनुमति लिएको बताए।
जजिरा एयरवेजले काठमाडौंमा भइरहेका उडानलाई नियमित राखी भैरहवामा उडान थप गरेको प्राधिकरणले जनाएको छ।
नयाँ विमानस्थलको लागि प्राधिकरणले प्रमोसनल प्याकेज घोषणा गर्न पाउने नियमावली मन्त्रिपरिषदले स्वीकृत गरिसकेको छ। प्राधिकरणले नियमावलीअनुसार प्रमोसनल प्याकेज बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ।
प्राधिकरणले ३ वर्षको लागि छुटको प्रस्ताव मन्त्रालयमा पठाएको छ। पहिलो वर्ष पार्किङलगायतमा ५० प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ३० प्रतिशत छुट हुने गरी प्याकेज ल्याएको छ।
मन्त्रालयले उक्त प्रमोसनल प्याकेज पारित गरेसँगै कार्यान्वयनमा आउने प्राधिकरणले जनाएको छ।