काठमाडौं। स्थानीय चुनावका कारण आन्तरिक पर्यटकको सङ्ख्या पातलो भए पनि भारतीय पर्यटकले पोखराका व्यवसायीलाई सन्तोष दिएका छन्। ठूला बस रिजर्भ लिएर आउने भारतीय पर्यटकले अहिले पोखराको चहलपहल बढाएका हुन्।
भारतीय बस लेकसाइडमा धेरै देखिन्छन्। भारतमा यो समय अधिक गर्मी भएकाले पनि सीमा क्षेत्रका भारतीय शीतल खोज्दै पोखरा आएको व्यवसायी बताउँछन्। आन्तरिक र भारतीय पाहुनाको यही आगमनले गर्दा अहिले व्यवसाय थामिएको छ।
ठूला र महँगा होटलदेखि मध्यमस्तरका होटलमा भारतीय पाहुना छन्। होटलको अकुपेन्सी बढेको छ। अहिले बिदाका दिनमा होटलको अकुपेन्सी ६० प्रतिशत र अन्य दिनमा ४० प्रतिशतभन्दा बढी रहेको व्यवसायी बताउँछन्।
अहिले शनिबार र आइतबारको बिदाले गर्दा आन्तरिक पाहुना थपिए पनि अरू दिन पनि पर्यटकको आगमन उत्तिकै राम्रो रहेको बताईएको छ।
पछिल्लो तीन महिनादेखि करिब ४० प्रतिशत अकुपेन्सीमा रहे पनि आधा पाहुना भारतीय छन्। यो बेला भारतीय पाहुना आएकैले गर्दा पोखराको लेकसाइडमा चमक छाएको छ, लेकसाइड पाहुनामय बनेको व्यवसायीहरुको भनाई छ।