काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन् । शुक्रवार नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्।
उनले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गरेको निर्णय हो भन्दै प्रश्न गरेकी छन्। उनले अदालतले रुख फाँड्ने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरुको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने तर यो निर्णय कसैको प्रभावमा आएर गरेको निर्णय भएको आरोप लगाएकी हुन्।
मन्त्री झाँक्रीले सबै न्यायाधीशहरु प्रधानन्यायाधीश हुने लाइनमा रहेको भए संसदमा आएर फेस गर्नसमेत चुनौति दिएकी छन्। उनले सरकारले विमानस्थलको बुटा मात्रै काट्ने निर्णय गरेको हो भने मात्रै सर्वोच्चको यो निर्णय सही हुनसक्ने बताइन्।
मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा गरेको सम्बोधनमाथि पनि प्रश्न उठाइन् । उनले अध्यक्ष ओलीले गरेको सम्बोधनको कुनै तुक नरहेको टिप्पणी समेत गरिन्। मन्त्री झाँक्रीले गफले मात्रै देशको समृद्धि हुननसक्ने भन्दै साढे तीन घण्टा बोल्न आफूले पनि सक्ने बताइन् । उनले कुर्सीमा बसेर अध्यक्ष ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै आफू बोलेरै आएको हुनाले साढे तीन घण्टा बोल्न कुनै गाह्रो नभएको र कुर्सीमा नबसीकनै बोल्न सक्नेभन्दै व्यंग्य गरिन्।
मन्त्री झाँक्रीले नीति नियमको दुरुपयोगका कारण चक्रपथ बाहिरको सडक नबनेको दाबी गरिन्। उनले बञ्चरे डाँडामा फोहोर फाल्न नदिने काम काठमाडौंवासीहरुले नै त्यहाँको जग्गा किनेर स्थानीयहरुलाई उचालेको आरोप लगाइन्।