काठमाडौं। कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको चीनसँगको सिधा उडान सञ्चालनमा आउने भएको छ। सो उडान मङ्गलबार (जेठ १७) देखि सञ्चालनमा आउने भएको हो।
नेपाली र चिनियाँ लगानीकर्ताको लगानी रहेको हिमालय एयरलाइन्सले मङ्गलबारदेखि चीनको कुनमिङ उडान सुरु गर्न लागेको हो। साताको एक उडान गर्ने सो एयरलाइन्सले जनाएको छ।
उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान तालिकासमेत पाइसकेको बताईएको छ। महामारी सुरु भएसँगै बन्द भएको नियमित उडान सञ्चालनको बाटो खुलेको छ।
यो दुई वर्षको अवधिमा थुप्रै चार्टर्ड उडान भए पनि नियमित उडान सुरु हुन नसक्दा नेपाल–चीनबीच आवागमनमा समस्या पर्दै आएको छ। सिधा उडान बन्द रहेकै कारण नेपाल आउने चिनियाँ पर्यटक समेत घटेका छन्।
महामारीअघि हिमालय एयरलाइन्सले काठमाडौँबाट चीनको बेइजिङ, चाङ्सा, नाङचाङ, कुनमिङ उडान गर्दै आएको थियो। नेपाल–चीनको हवाई सम्झौताअनुसार नेपालका एयरलाइन्सले चीनका सातवटा सहरमा उडान गर्न सक्छन्। बेइजिङ, साङ्घाई, ल्हासा, ग्वाङजाउ, कुनमिङ, छेन्दु र जियानमा नेपालका एयरलाइन्सले उडान गर्न सक्छन्।