काठमाडौं। सरकारले खानेपानी क्षेत्रका लागि आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ। त्यस्तै, आगामी वर्ष चक्रपथ बाहिरसमेत मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकाको चक्रपथबाहिर पनि वितरण गरिने भएको छ। त्यसका लागि सरकारले एक अर्ब ९२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ।
सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटमा खानेपानी आयोजनाको विकास र विस्तारलाई प्राथमिकतामा राखेको बताए। उनले मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्फत याङ्ग्री र लार्के खोलाको पानी काठमाडौँ ल्याउने पनि योजना प्रस्तुत गरे।
बजेटमा मकवानपुर र काठमाडौँको सिमानामा रहेको सिस्नेरी तथा दक्षिणी ललितपुरमा रहेको ठोस्ने खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याई वितरण गर्नेबारे अध्ययन गर्ने उल्लेख छ। सरकारले काठमाडौँ उपत्यकामा बढ्दै गएको खानेपानीको मागलाई पूरा गर्न वरपरका जलस्रोत तथा उपत्यकाभित्र खानेपानीका वैकल्पिक स्रोतलाई समेत उपयोग गर्ने घोषणा गरेको छ।
पानीका स्रोतहरुको संरक्षण गरी सहज उपलब्धताका लागि पानी सङ्कलन गर्ने पोखरी निर्माण तथा त्यस्ता जलाधार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्ने लक्ष्य सरकारले दिएको छ। अर्थमन्त्रीले एक हजार घरधुरीका लागि खानेपानी आयोजना तथा पाँच करोडसम्मका सिँचाइ आयोजना स्थानीय तथा प्रदेश मार्फत सञ्चालन गर्ने घोषणा गरे।