काठमाडौं। संसदीय समितिले निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिएको हो।
सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो । राष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई चाडै अघि बढाउन समितिले निर्देशन दिने निर्णय गरेको हो।
वाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठिन अवस्थामा रहेको नेपालको अर्थतन्त्रमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रयोजनको लागि भइरहेको अर्बौं रुपैयाँलाई निरर्थक तुल्याउँदा झनै धक्का लाग्ने बताइएको छ।
समितिले पोखराबाट जोमसोमतर्फ चालकदलका सदस्यसहित कुल २२ जना यात्रु बोकेर उडेको तारा एयर प्रा.लि.को ट्विनएटर नाइनएन एइटी विमान दुर्घटनामा परी ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारमा समवेदनासमेत प्रकट गरेको छ।