काठमाडौं। सरकारले पोखरा महानगरपालिका–१४ मा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गर्दै हवाई पूर्वाधारतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइने बताएका छन्।
सरकारले आर्थिक वर्ष २०७९।८० मा हवाई पूर्वाधारतर्फ रु १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
चिनियाँ कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसारका सबै काम अन्तिम चरणमा रहे पनि नेपाल सरकारको जिम्मामा रहेका सञ्चालनपूर्व गर्नुपर्ने काम भने अझै बाँकी छन्। पोखरा विमानस्थल गत चैत १२ गते चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा नेपाललाई हस्तान्तरण गरिएको थियो।
त्यतिबेला विमानस्थलको मुख्य निर्माण र उपकरण जडानको कार्य सम्पन्न भएको र ९३ प्रतिशत भौतिक प्रगति भएपछि नेपाललाई हस्तान्तरण गरिएको थियो। विमानस्थल सञ्चालनका लागि अझै पनि ल्याण्डफिलसाइट स्थानान्तरण, दक्षितर्फको रिठेपानी डाँडा कटान र बर्खायाममा भलबाढी नियन्त्रणका लागि सिँचाइ नहर व्यवस्थापनको काम बाँकी छन्।