काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले यस्तो बताएका हुन्।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत एयरमार्क भइसकेकाले सरकार पछि नहट्ने आलेले जानकारी दिए।
उनले सरकार दृढतापूर्वक अगाडि बढ्ने बताए। मन्त्री आलेले हेलिकप्टर र हवाइजहाजहरू युरोपबाट ‘सेकेन्डह्यान्ड’ मा किनेर नेपालमा प्रयोग गरिने गरेको दाबी गरे। उनले पुरानो जहाज प्रयोग गरेर मानिसको जीवनको खेलवाड गरिएको भन्दै जहाजहरूको पुरै इन्जिनियरिङ सर्वे गरेरमात्रै प्रयोग गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए।
नेपाली कांग्रसका सांसद प्रकाशमान सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जाने बताए। उनले विमानस्थल बनाउन नसके ठुलो मूल्य चुकाउनुपर्ने बताए। यसका लागि आवश्यक परेमा सर्वदलीय सहमति गरेर पनि काम गर्नुपर्ने उनले बता ।
बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताए। उनले राज्यका कुनै पनि निकाय विकासको सहयोगी हुनुपर्ने बताए।