काठमाडौं। अबदेखि मौसम सफा नभएसम्म उडान अनुमति नदिइने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विमान प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलसम्मको इनरुट मौसम सफा नभएसम्म जहाजहरूलाई उडानको अनुमति नदिने भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीपकुमार अधिकारीले भने, ‘अहिलेसम्म भएका दुर्घटनाहरूमा प्रतिकूल मौसममा जहाज उडाएका कारण भएको देखियो, अबदेखि जहाज प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थलसहित इनरुट को मौसम सफा नभएसम्म उडान अनुमति दिइने छैन।’
प्रतिकूल मौसमका कारण देशमा पटक–पटक हवाई दुर्घटना हुँदै आएको निष्कर्ष निकाल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले यो निर्णय गरेको हो। महानिर्देशक अधिकारीका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुने भएको छ। अब जहाज उड्ने रुटको मौसमसमेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने र यसको कडाइका साथ पालना गरिने क्यानले जनाएको छ।