काठमाण्डौं। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ। मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो।
बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइएको मुग्लिङ–पोखरा सडक योजना, तनहुँले जनाएको छ। “नियमितरूपमा यातायात सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्दगरी काम गर्न लागेको हो।
आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्शनले पाएको छ। सडक विस्तारका लागि राजमार्ग आसपासका रुख काटिएका छन्। हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन्।
मुग्लिङ–पोखरा सडक विस्तारकार्यअन्तर्गत पश्चिम खण्डबाट पनि काम सुरु भइसकेको छ। पश्चिम (जामुने–पोखर) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्शन कम्पनीले पाएको छ। विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।