काठमाडौं। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ। प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गरेका हुन्।
उनीहरुले सर्वोच्च अदालतले दिएको फैसलाको पक्षमा ऐक्यवद्धता जनाएका छन्। बिनाविकल्प विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरूले ऐक्यवद्धतास्वरूप काठमाडौंमा शान्तिपूर्ण र्यालीसहितको प्रदर्शन सुरू गरेको प्रदर्शनकारीहरुको भनाइ छ।
उनीहरुले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपूर्जासहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।
स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयहरूलाई विस्थापित गराउने षड्यन्त्र राज्यबाट भइरहेको भन्दै आपत्ति जनाउँदै आएका छन्।