देउखुरी। दाङको कुहिरेपानीदेखि घोराही जोड्ने सडकमा पर्ने सिस्ने खोलामा समयभन्दा पाँच महिना अगाडि पुल सम्पन्न भएको छ। लम्बाइ ९० मिटर र चौडाइ ९ दशमलव ६० मिटरका दुईवटा पुल निर्माण सम्पन्न भएका हुन्।
कुहिरेपानी–सर्रा जोड्ने पुल नभएका कारण यात्रुलाई समस्या हुने गरेको थियो। सिस्ने खोलामा बर्सेनी आउने बाढीले धेरै दुःख भोग्नु परेको थियो। आउने र जाने (छुट्टाछुट्टै) यात्रा गर्न मिल्ने पुल दाङमा यो नै पहिलो हो।
लुम्बिनी प्रदेश सरकारको १९ करोडको बजेटमा पुल बनेको ईलाईट कन्स्ट्रक्सन कम्पनीले जनाएको छ। दुई वर्ष ६ महिनामा सक्नुपर्ने सम्झौता भएको थियो। पाँच महिनाअगाडि नै ९९ प्रतिशत काम सम्पन्न गरेको हो।
खोलामा पुल निर्माण भएसँगै घोराहीवासीलाई यात्रा गर्न सहज भएको छ। यो पुल निर्माणबाट साबिकको सौडियार गाविस साविकको लक्ष्मीपुर गाविस र साबिक घोराही नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन्।
सो सडक पार गर्न करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो। तर, पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको स्थानीयवासीले बताए। वर्षातमा ठूलो बाढी आउने भएकाले यात्रा गर्न कठिन थियो।