काठमाण्डौं। अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार स्पष्ट रहेको बताएका छन्।वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारणसभालाई हिजो सम्बोधन गर्दै मन्त्री शर्माले सो धारणा सार्वजनिक गरेका हुन।
सर्वोच्च अदालतले उक्त विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया रोक्न आदेश दिइसकेको छ। “निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ। यो जनार्दन शर्माको प्रतिबद्धता भयो”, उनले भने , “यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ।” उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिकरूपमा मात्र नभएर मधेस र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको बताए। उनले निजगढ विमानस्थल र काठमाडौँ–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको बताए।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भुपाल बराल लगायतको टोलीले शनिबार बिहान वीरगञ्ज चिनी उद्योगको निरीक्षण गरेको थियो। सो अवसरमा उद्योगमा कार्यरत कर्मचारीले चिनी मिल सञ्चालन योग्य रहेको जानकारी दिएका थिए।
मन्त्री शर्माले पथलैया–वीरगञ्ज करिडोर, निजगढ विमानस्थल र द्रुतमार्ग, चिनी कारखाना खोल्ने विषय, सुक्खा बन्दरगाह, एकीकृत भन्सार जाँचचौकी निर्माण लगायत माध्यमबाट वीरगञ्जका उद्योगीलाई सम्बोधन गरिरहेको बताए।