काठमाण्डौं। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड हिजोदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले हिजोदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो।
उक्त सडक हिजोदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द रहने मुग्लिङ पोखरा सडक योजनाले जनाएको छ।
नियमितरुपमा सवारी साधान सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्द गरी काम गर्न लागिएको हो। सो समय अगाडि वा पछाडिमात्र उक्त सडकमा आवतजावत गरिदिन सर्वसाधारणलाई आग्रह गरिएको छ। आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ।
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। सडक विस्तार कार्यका लागि राजमार्ग आसपासका रुखहरु काटिएको छ।
विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो।