गुल्मी। रेसुङ्गा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको हो।
टावर निर्माणको काम भने अझै बाँकी छ। हाल विमास्थलमा वरिपरि टेवा पर्खाल, धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किङ लगायतका काम सम्पन्न भएको छ।
२०६३ सालदेखि निर्माण सुरु भएको विमानस्थलमा सिभिल निर्माणको काम सकिएको रेसुङ्गा विमानस्थलले जनाएको छ। २०७५ सालको जेठ महिनामा तारा एयरले परीक्षण उडान गरेपछि अब विमानस्थल सञ्चालनमा आउला भन्ने आशा थियो। तर पटक–पटकको प्रतिवद्धता हुँदा पनि नियमित उडान भने हुन सकेको छैन।
रेसुङ्गा विमान स्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ। कुल १५६ रोपनी जग्गामा फैलिएको विमानस्थलमा हालसम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भइसकेको रेसुङ्गा विमानस्थल गुल्मीका सहायक आयोजनाले जनाएको छ।
२०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए। कोरोना महामारीका कारण विमानस्थल निर्माणको काममा ढिलाइ भएको आयोजनाले जनाएको छ।