काठमाडौं। खप्तड तथा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि हाल्फम्याराथन प्रतियोगिता हुने भएको छ। जेठ २८ गते प्रतियोगिता हुने भएको हो।
सुन्दर सुदूरपश्चिम खप्तड – शैलेश्वरी नाम दिएर गंगा दशहरा पर्वको अवसरमा उक्त मयाराथन हुने भएको छ। पर्वको अवसरमा उद्योग वाणिज्य संघ, नेपाली सेनाको भैरब प्रसाद गण सिलगढी र नम्बर पाँच बाहिनी अड्डा राजपुर डोटीले प्रतियोगिताको आयोजना गर्न लागेका हुन्। म्याराथनसँगै खप्तडमा भलिबल तथा डेउडा प्रतियोगिता र योग शिविरसमेत आयोजना गरिने जानकारी दिएको छ।
भुस्वर्गका नामले चर्चित खप्तड राष्ट्रिय निकुञ्ज देखि डोटीको दिपायल सिलगढी नगरपालिका – ६ सिलगढीमा अवस्थित शैलेश्वरी मन्दिर सम्म ३२ किलोमीटरको म्याराथन प्रतियोगिता हुने आयोजकले जनाएको छ। खप्तड, बीचपानी, झिंग्राना, बगलेक, सिलगढी हुँदै शैलेश्वरी मन्दीर परिसरसम्म म्याराथन रुट कायम गरिएको छ।
२२५ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको खप्तड समुद्र सतहबाट तीन हजार ५ सय मिटर सम्मको उचाईमा रहेको छ।