काठमाडौं। व्यास नगरपालिका–१० को परेवा डाँडा र व्यास नगरपालिका–५ को चिन्तुटार जोड्ने मादी नदीमा २८२ मिटर लामो झोलुङ्गे पुल निर्माण कार्य अघि बढाइएको छ।
व्यास नगरपालिका वडा नं १० स्थित परेवा डाँडा नजिक मिदिम हाइड्रोको ३३ केभी प्रसारण लाइनका तारका कारण पुलको टावर ठड्याउन बाधा भएकाले विद्युत् खम्बालाई वैकल्पिक रुटमा सारेर पुल निर्माण कार्य अघि बढाउन लागिएको हो।
प्रमुख जिल्ला अधिकारी, पूर्वाधार कार्यालय, विद्युत् प्राधिकरण, मिदिम हाइड्रो आयोजना, स्थानीय जनप्रतिनिधिले पटकपटक बसेर छलफल गर्दै आए पनि सहमति जुट्न नसकेकामा आइतबार बसेको स्थानीय भेलाले पुल निर्माण गर्ने सहमति भएको हो।
विद्युत खम्बाका लागि पहिला खनेको डोबभन्दा करिब तीन मिटर तल खम्बा गाड्दा दुवै पक्षलाई असर नपर्ने गरी पुल निर्माणका लागि सहमति जुटेको नगरपालिकाले जनाएको छ।
विसं २०७३ मा फिल्ड सर्भे गरेर टेण्डर निकाले पनि इष्टिमेसनमा १५२ मिटरको मात्रै पुल भएकाले पुनः बोलपत्र आह्वान गर्नुपर्दा निर्माण कार्यमा ढिलाइ हुन गएको हो।