काठमाडौं। कालीगण्डकीको निर्दिम भुजातघाट जोड्ने निर्माणाधिन पक्की पुलको काम ८० प्रतिशत भएको छ। पुल निर्माण सुरु गरेको एक दशकमा ८० प्रतिशत काम भएका हो।
तीन वर्षमा काम सम्पन्न गर्ने योजना रहे पनि पुल निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन।लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर–८ र गण्डकी प्रदेशको स्याङ्गजाको चापाकोट–९ जोड्ने कालीगण्डकी नदीमा निर्माण भइरहेको पुलको काम हालसम्म करिब ८० प्रतिशत भएको निर्माण कम्पनीले जनाएको छ।
विसं २०६९ असारमा सम्झौता भएको पुल मङ्सिरदेखि निर्माण प्रक्रिया सुरु गरिएको हो। सम्झौतानुसार तीन वर्षभित्र पुल निर्माण कार्य सक्नुपर्ने भए पनि चापाकोट क्षेत्रमा डिजाइन परिवर्तन गर्नुपर्ने हुँदा लामो समय लम्बिन पुग्यो।
पटक–पटक म्याद थप गरेर निर्माणको काम अगाडि बढाइएको छ। विसं २०७७ को चैतमा डिजाइन पास भएपश्चात् निर्माणको काम धमाधम अगाडि बढाइएको निर्माण व्यवसायीले बताए।
“पुल सुरु गरेको अवधि धेरै समय लम्बियो, डिजाइन परिवर्तनले गर्दा करिब चार।पाँच वर्ष त काम नै गर्न पाइएन, डिजाइन पास भएपछि अहिले धमाधम काम भइरहेको छ, ८० प्रतिशत त काम सम्पन्न भइसकेको छ, अब तोकिएकै समयमा नै निर्माणको काम सकिन्छ”, निर्माण व्यवसायीले भने।
कन्काई नेपाल प्रगति मिलेनियम जेभीले भ्याटसहित रु १५ करोडको लागतमा सम्झौता गरी निर्माण कार्य थालनी गरेको हो। हाल यहाँ भारतीय मुलुक र नेपाली मुलुकका गरी २० जना कामदार दैनिक परिचालन गरिएको छ।
असारभित्र दुई स्पान सम्पन्न गर्ने र वर्षायाम सकिएपछि एक स्पानको काम सक्ने बताइएको छ। आगामी चैत मसान्तभित्र काम सम्पन्न गर्ने गरी निर्माणको कामलाई तीव्र बनाइएको छ।