काठमाडौं। सडक सञ्जालले नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई महिनापछि हवाई सेवा सहज भएको छ। हुम्लाका लागि उडान भर्दै आएका निजी एयरलाइन्सहरू कर्णालीका हिमाली जिल्लामा उडान भर्नका लागि नेपालगञ्ज फर्किएपछि हवाई सेवा सहज भएको हो।
सोमबार नेपालगञ्ज जाने तयारीमा रहेका यात्रुले आफू तीन दिनपछि बल्ल गन्तव्यमा जान पाइएको बताए। यात्रु बोर्डिङ पास देखाउँदै उनले हुम्लाका लागि उडान भर्ने सबै जहाज नेपालगञ्ज बेस गर्नेगरी फिर्ता भएपछि हवाई सेवा सहज भएको बताए।
यसअघि उक्त जहाज काठमाडौँ केन्द्रित हुँदा महिनामा तीनदेखि चारवटा मात्र उडान भर्ने गरेको थियो। नागरिक उड्डयन प्राधिकरण सिमकोटका अनुसार सोमबार मात्र सीता, तारा, समिट र नेपाल एयरलाइन्सले सातवटा उडान भरेका छन्।
हवाई यातायात सहज भएसँगै सिमकोट विमानस्थलबाट भारी बोक्ने कार्य पुनः सुरु भएको छ। नेपालगञ्ज विमानस्थलले हुम्ला मात्र नभई कर्णालीका जुम्ला, मुगु, डोल्पा र सुदूरपश्चिमको बाजुरा जिल्लाका लागि पनि हवाई सेवा सहज भएको बताए। लामो समयदेखि आफुहरुले यात्राको क्रममा भोगेको पिडा सुनाउदै स्थानीय भन्छन्। अब यात्रा गर्नको लागि सहज हुने भएको छ। अब सजिलै आवतजावत गर्न सकिने विश्वास गरिएको छ।