काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले अस्थाई पुलमा क्षति पुर्याएको छ। बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाका अनुसार फड्केश्वरी भन्ने स्थानमा ह्युमपाइप राखेर बनाइएको स्थानमा बाढीले क्षति पुर्याएको हो। अहिले त्यहाँ डोजर प्रयोग गरेर मर्मत गर्ने काम भइरहेको बताईएको छ। मर्मतको काममा मेयर आइतमान तामाङसहितको टोली खटिएको छ।
सिन्धुपाल्चोकमा अहिले पनि पानी परिरहेको छ र नदी तथा खोलाहरुमा पानीको सतह सामान्य बढेको छ। तर अन्य स्थानमा क्षति भएको विवरण भने नआएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
गत वर्ष जेठ मसान्तमा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको थियो। फेरि बर्खायाम सुरु भएपछि स्थानीय त्रसित छन्।