काठमाण्डौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन। आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो।
एक वर्षमा काम सम्पन्न गरि सक्ने गरी पाँच करोडको लागतमा उक्त भवन निर्माण गरिन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। पछिल्लो समयमा थपिँदै गएको आन्तरिक हवाई यात्रुको चापलाई मध्यनजर गर्दै अस्थायी टर्मिनल विकास गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ। उक्त भवन निर्माणको जिम्मा ब्राइट मल्टि कन्ट्रक्सनले लिएको छ। उक्त भवन निर्माणपछि यात्रुलाई सहज हुने विश्वास गरिएको छ।
आन्तरिक क्षेत्रमा ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइने छ भने हालको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने भएको छ। सो नयाँ टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडा हुनेछ। करिब ३५ मिटर लामो ब्यागेज कन्भेयर बेल्ट (दुईतर्फी ब्याग लिन मिल्ने) हुनेछ।