चितवन। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न भएपछि भरतपुरमा ठूलो संख्यामा रोजगारी सिर्जना हुने बताएकी छन्।
आइतबार एक कार्यक्रममा बोल्दै मेयर दाहालले गौरवका आयोजना निर्माण सम्पन्न हुनासाथ भारतपुरमा रोजगारी सिर्जना हुने बताएकी हुन्।
भरतपुर महानगरपालिका वडा नम्बर १४, १५ र २१ मा राष्ट्रिय गौरवका आयोजना निर्माणधिन र निर्माण गरिने क्रममा रहेकाले यसले ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने मेयर दाहालको भनाइ छ। भरतपुरमा हुने विकासले नै रोजगारी सिर्जना हुने भएकाले महानगरपालिकाले यस्ता परियोजनालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘भरतपुर १४ र १५ को सिमानामा ३०० शैयाको केन्द्रीय शिक्षक अस्पताल, वडा नम्बर २१ मा केन्द्रीय उद्योगग्राम निर्माण भएपछि यहाँका स्थानीयले रोजगारी पाउने छन् । भरतपुर महानगरपालिकाले युवासँग मेयर कार्यक्रममार्फत बैँकबाट ५ लाख ऋण लिने उद्यमीलाई ब्याजमा शतप्रतिशत अनुदान प्रदान गर्दै आइरहेको बताउँदै मेयर दाहालले यो रकमभन्दा बढी ऋण लिनेलाई सहुलियत प्रदान गर्ने गरी कार्यविधि ल्याउने तयारीमा रहेको जानकारी दिइन् ।
मेयर दाहालले महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने स्पष्ट नीतिअनुसार रोजगारी बैंक निर्माणको तयारीमा रहेको बताइन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले युवाहरुले सीप, दक्षतामा ध्यान दिनुपर्ने बताइन्। विकास निर्माणको कार्यमा सीप तथा दक्ष व्यक्तिको आवश्यक पर्ने भएकाले सबैले कुनै न कुनै सीप सिकेर बस्नुपर्ने उनको भनाइ छ।