चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजबाट बन्द गरिएको छ। वर्षा सुरु भएसँगै निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाक, राप्ती नदीमा गरिने डुंगा सयर लगायतका गतिविधि बन्द गरिएको हो।
निकुञ्जभित्रका खोला तथा खोल्सामा बाढी आउने, कच्ची बाटाहरु बिग्रिने र रूखहरु लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले निकुञ्जभित्रका पर्यटकीय गतिविधि बन्द गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। योसँगै अर्को सूचना नआएसम्म निकुञ्जभित्र कुनै पनि पर्यटकीय गतिविधि हुने छैन।
निकुञ्जले हरेक वर्ष वर्षा सुरु भएपछि राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधि बन्द गर्दै आएको छ।