काठमाण्डौं। बागलुङ जिल्लाको बरेङ गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ। केन्द्रीय प्रसारण लाइनको पहुँचमा नरहेका बरेङ–१ ओखरेनी माझगाउँ, थुम, लुङदी चौडिला, सोलथापा, गडेल गाउँहरुमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको हो।
सामुदायिक विद्युतीकरण मार्फत केन्द्रीय प्रसारण लाइन नपुगेका गाउँहरुमा विद्युत् पुर्याइएको गाउँपालिले जनाएको छ। नेपाल विद्युत् प्राधिकरण, बरेङ धुल्लुबास्कोट उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर थापाले विद्युत्को स्विच थिचेर विद्युतीस्करणको उद्घाटन गरेकाथिए।
स्थानीय खोलामा रहेको पावर हाउसबाट उत्पादित बिजुलीले धिपधिपे बत्ती मात्रै बल्थ्यो, अब राइसकुकरमा खाना बन्छ, स–साना कलकारखा चलाउन सहज हुन्छ। यसअघि स्थानीयवासीले पालुङखोलाबाट लघु जलविद्युते्को विद्युत् उपभोग गर्दै आएका थिए।
लघु जलविद्युत् उपभोग गर्दा बिहान–बेलुका बत्ती मात्रै बालिरहेकामा अब भने ११ केभिए प्रसारण लाइनबाट वडाका ११० घरधुरीले केन्द्रीय विद्युत्को उपयोग गरेको स्थानीयले बताए। केन्द्रीय विद्युत् पुगेपछि घरेलु उद्योग कलकारखाना लगायत विद्युतीय उपकरण सञ्चालन गर्न सकिने हुँदा आफूहरु खुसी भएको स्थानीयवासीको भनाइ छ।