काठमाडौं। २०७२ सालको भू–कम्पका कारण क्षती पुगेका ९२० सांस्कृतिक सम्पदामध्ये ५८३ वटाको पुनःनिर्माण सम्पन्न भएको छ। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उक्त सम्पदाको पुनःनिर्माण सकिएको बताएका हुन्।
मन्त्री आलेले आगामी आर्थिक वर्ष भित्रमा ७०० वटा सम्पदाको पुनःनिर्माण सकिने बताएका छन् । निर्माण बाँकी रहेका सम्पदाको पुनःनिर्माण आगामी दुई वर्ष भित्रमा सक्ने गरी काम अघि बढेको बताएका छन् । यसका लागि अर्थमन्त्रालयले आगामी आर्थिक वर्षका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट हस्तान्तरण भएर आएका सम्पदा समेत पुरातत्व विभागबाट सञ्चालनमा रहेको बताइएको छ । पशुपति क्षेत्रमा भू–कम्पबाट क्षती पुगेका ९३ मध्ये ६४ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेका छन् । यसैगरी, विश्वरूपा मन्दिर पुनःनिर्माणको काम अघि बढेको आलेले जानकारी दिए ।
यसैगरी भू–कम्पबाट क्षती पुगेका अन्य ठूलो सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेका छन् । यसका साथै, पशुपतिनाथ क्षेत्रको पुनःनिर्माणका लागि लागि १ अर्ब बजेट विनियोजन भएको छ ।