काठमाडौं। दुई वर्षपछि काठमाडौं र थइल्याण्ड सिधा हवाइ उडान हुने भएको छ। थाइल्याण्डको क्षेत्रीय वायुसेवा एवं थाइ एरवेजको सहायक कम्पनी थाइ स्माइलले आउँदो जुलाई १ देखि काठमाडौंमा साताको सात वटा उडान गर्ने भएको हो।
कम्पनीले बुधबारदेखि यो गन्तब्यका लागि टिकट बुकिङ समेत सुरु गरिसकेको छ। यो गन्तब्यका लागि सामान्य अवस्थामा दुईतर्फी सुरुवाती भाडादर ४२ हजार रुपैयाँ रहेको छ। तर हाल भने सस्तो टिकट पाउनै मुस्किल रहेको र माग समेत उच्च भएकाले भाडा दर ६४ हजार रुपैयाँ रहेको जनाइएको छ।
नेपालका लागि सोसाइटी इन्टरनेश्नल ट्राभल थाइ स्माइलको जीएसए रहेको छ। यतिखेर यो गन्तब्य उडानका लागि माग राम्रो रहेको सोसाइटीले जनाएको छ।
थाइ स्माइल सन् २०११ मा स्थापना भएको लो कस्ट वायुसेवा कम्पनी हो। यो कम्पनीले सन् २०१२ बाट आफ्नो व्यावसायिक उडान सुरु गरेको थियो।
फुल सर्भिस एयरलाइन्स र लो कस्ट एयरलाइन्सबीचको भिन्नता हटाउने उद्देश्यले संचालनमा ल्याइएको थाइ एयरवेजको यो भगिनी कम्पनीले संचालनमा आएको दुई वर्षमै ५० लाख भाट नाफा कमाएको थियो।