डोटी। खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति खारेज हुनुपर्ने माग राखिएको छ। खप्तडको विकास र प्रचारका लागि सरोकारवालाहरुसँग समन्वय छलफल तथा बैठकमा सहभागिले समिति खारेजको माग गरेका हुन्।
समिति गठन भएको लामो समय भएको भए पनि त्यो अनुसारको कार्य समितिले नगरेको पाईएकाले खप्तडको विकास र प्रचारका लागि विज्ञ समिति गठन हुन आवश्यक रहेको बताउदै समिति खारेज हुनुपर्ने बताईएको हो ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति अहिले राजनीति गर्ने थलो जस्तै भएको र खप्तडलाई जोडेर धेरैले आफ्नो स्वार्थ मात्रै पूरा गर्ने गरेको आरोप समेत लागेको छ । खप्तड क्षेत्र पर्यटन विकास समितिमा पछि आएर व्यवस्थापन समिति थपिएको कुरा उल्लेख गर्दै राजनितीक व्यवस्थापन गर्ने परिपाटी त हैन भन्ने आशंका समेत गरिएको छ ।
खप्तडमा कसरी धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्ने कुरामा बैठकमा छलफल गरिएको छ । खप्तड मध्यवर्ती क्षेत्रका स्थानीयहरूलाई आयआर्जन लगायत स्वरोजगार हुने खालका तालिम दिन आवश्यक रहेको होटल व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष दिपक खड्काले बताए । साथै उनीहरुलाई पर्यटकप्रति गर्नुपर्ने व्यवहारको बारेमा तालिम दिनुपर्ने र यसले गर्दा खप्तडमा पर्यटक भित्र्याउन सकिने उनले बताए ।
खप्तडको प्रचारप्रसार भनेर थुप्रै रकम खर्च गरेको पाईए पनि नारामा मात्रै सिमित भएकाले खप्तड क्षेत्र ओझेलमा पर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको डोटी उद्योग वाणिज्य संघ डोटीका पूर्व अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए।