म्याग्दी। बेनी-बागलुङ सडक खण्डको बायाँतर्फ विशाल खेलमैदान पनि रहेको रत्नेचौरको रौनक सडक कालोपत्र भएपछि झन बढेको छ। म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर-अर्जम खण्डको एक हजार ३०० मिटर सडक कालोपत्र गरिएपछि रत्नेचौरको रौनक बढेको हो।
बेनी नगरपालिकाका तीन वडा समेटिएको यस सडक खण्डको जिरो किलोमिटर रत्नेचौरदेखि सडक कालोपत्रे शुरु भएको हो। सडक डिभिजन कार्यालय बागलुङमार्फत यस वर्ष एक हजार ३०० मिटर सडक कालोपत्र गर्ने योजना अनुसार काम गरिएको बेनी नगरपालिक-२ रत्नेचौरका वडाध्यक्षले बताएका छन्।। उनका अनुसार कालोपत्रसँगै अर्जमदेखि भकुण्डेसम्मको सडकलाई समेत फराकिलो बनाउने, नाली निर्माण गर्ने, ढलान गर्नेलगायतका स्तरोन्नतिका काम भएका छन्।
त्यस्तै सडक डिभिजनमार्फत सडक कालोपत्र गर्न एक करोड ३७ लाख र सडक स्तरोन्नति गर्न एक करोड १२ लाख ७६ हजारमा सडक कालोपत्र र स्तरोन्नतिको काम भएको वडाअध्यक्षले बताए । सो सडक फराकिलो बनाउने, ह्युमपाइप राख्ने, ग्राभेल गर्ने, मेसिनरी पर्खाल लगाउने र ढलानसमेत गरी स्तरोन्नतिलगायतका काम सम्पन्न भइसकेका र आगामी वर्ष अर्जमसम्म कालोपत्र गर्ने योजना रहेको छ।
उक्त सडकको ट्र्याक निर्माण भएको करिब दुई दशकपछि ग्रामीण सडक कालोपत्र आयोजना सञ्चालन भएपछि स्थानीयवासी उत्साहित बनेको छन्। कच्ची सडकका कारण नियमित सवारीसाधन सञ्चालन नहुने, हिउँदमा धुलो र बर्खायाममा हिलोको सास्ती बेहोर्दै आएकामा सडक कालोपत्र सुरु भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ। रत्नेचौर-भकुण्डे हुँदै भकिम्ली जोड्ने १८ किलोमिटर सडकको डीपीआर नै तयार पारेर बहुवर्षीय आयोजना सञ्चालन भएको हो। साथै आगामी वर्षमा पनि बजेट विनियोजन गरी कालोपत्रेसहितको स्तरीय सडक निर्माणका गर्ने योजना रहेको छ।