काठमाण्डौं। गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन्।
नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ। यी दुवै संयुक्त अरब इमिरेट्स (युएई) का अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हुन्।
एयर अरेबियाले आउँदो दुई हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा प्रकटगर्दै प्रक्रिया थालेको बताईएको छ।
खासगरी भैरहवा विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप पनि उच्च रहेको छ। सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका छन्।
यसैगरी एक महिनाअघि विमानस्थल उद्घाटनसँगै साताको तीन दिन नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सले पनि छिट्टै हप्तामा सातै वटा उडान सुरु गर्ने तयारी गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाले जनाएको छ।
हाल काठमाडौँ–कुवेत रुटका लागि जजिराको न्यूनतम भाडा ३३ हजार रहेको छ। भैरहवा–कुवेत रुट भएर अवतजावत गर्दा भने यसमा २० प्रतिशत अर्थात् छ हजार ६०० कममा सेवा दिँदै आएको जनाइएको छ।