काठमाडौं। वायु सेवा सन्चालक संघले बुधबारदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ। हवाई सेवा कम्पनीहरुल आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी दिएका छन्।
बुद्ध एयरले ट्वीट गरेर बुधबार बिहान ११ बजेदेखि उडानहरु सुचारु हुने जानकारी दिएको छ। यती एयरलाइन्सले ट्वीट गरेर अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडानहरु नियमित हुने जानकारी दिएको छ।
श्री एयरलाइन्सका अनिल मानन्धरले पनि आज बिहान ११ बजेदेखि हवाई उडान नियमित हुने बताइएको छ। वायु सेवा सन्चालक संघले विभिन्न मागहरु राख्दै बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो। त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सन्चालकहरुबीच वार्ता भएको थियो।
वायु सेवा सन्चालक संघका प्रवक्ता योगराज कँडेलले प्राधिकरणसँगको वार्तामा बुधबार बिहान ११ बजेदेखि उडान सुरु गर्ने र आफूहरुका मागको विषयमा छलफल पनि जारी राख्ने सहमति भएको बताए।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिडभाड बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानको आधार विमानस्थल (जहाँबाट बिहान पहिलो उडान हुन्छ)मै रात्रीकालीन विसान (पार्किङ) गर्ने व्यवस्था गर्न सर्कुलर जारी गरेको थियो। सर्कुलर अनुसार हेलिकप्टर कम्पनीले असार ७ गतेदेखि र हवाईजहाज सञ्चालक कम्पनीहरुले असार १३ गतेदेखि तोकिएको आधार विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने थियो। यो सर्कुलरका कारण ३५ वटा जहाजलाई रात्रीकालीन विसानका लागि उपत्यका बाहिर जानुपर्ने थियो। यसको विरोधमा नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको थियो।