सिरहा। सिरहा र धनुषा जिल्ला जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको थियो। केही दिनभित्रै पुल निर्माण सकेर सुरु गर्ने तयारी रहेको थियो। तर, असारको पहिलो साता कमला नदीमा आएको ठूलो बाढीले बसपिट्टातर्फको दोस्रो पायाँको स्ल्याब भात्काइदियो । जसले गर्दा स्थानीयहरु निराश भएका छन्।
गत असारयता देशका विभिन्न नदी र खोलाहरूमा आएका बाढीले बगाएका र क्षति पुर्याएका पुल चार महिना बित्दासमेत पुनर्निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन। पुल नहुँदा नागरिकले दैनिक सास्ती भोगिरहेका छन। कमला नदीका साइट इन्जिनियरले प्राविधिक टोलीको निष्कर्षका आधारमा पुल निर्माणको जिम्मा पाएको लुम्बिनी बिल्डर्सले नै पुल पुनःनिर्माण गर्ने बताएका भए पनि हालसम्म न त प्राविधिकहरूको प्रतिवेदन सार्वजनिक भएको छ, न काम नै अघि बढेको छ।
कमला नदीमा पुल बनाउन ०६८ सालमा पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्र्डस जेभीले निर्माणको ठेक्का सम्झौता गरेको थियो । तर, निर्माणलको कामले भने गति लिन सकेन । त्यहिमाथि पप्पुले पुलको पाया गुणस्तरीय बनाएन । ३५ मिटर जमिनमुनिसम्म खनेर पुलको पाइल निर्माण गर्नुपर्नेमा १४ मिटरमा धसाएर पाया उठाएपछि कमजोर पूर्वाधार बन्यो । जसले गर्दा पानीको बहाव थेग्न नसकेर पुल भासिएको हो ।
अहिले देशभरका थुप्रै नदी र खोलाहरूमा पुल छैनन्। एउटै पुल बन्दा सामान्य बन्ने दैनिकी पुल नहुँदा कष्टपूर्ण छ। विकासमा बेवास्ता, परियोजना छनोट र बजेट विनियोजनको झन्झटिलो प्रक्रिया, ठेक्कामा हुने बदमासी, ठेकेदारले गर्ने ढिलासुस्तीलगायतले गर्दा आवश्यकता अनुसार पुल बन्न सकेका छैनन्। पुल नहुँदा स्थानीयबासीहरु सास्ति झेल्न बाँध्य रहेका छन्।