काठमाडौं। सिमरा विमानस्थलको धावनमार्ग जोखिममा परेको छ। छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही गर्न थालेपछि रनवे जोखिममा पर्ने भएको हो।
नियमनकारी निकायको बेवास्ताका कारण निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सूचक चिन्ह पेन्टमाथि नै अस्तर लगाएर धमाधम कालोपत्रे गरेपछि रनवे जोखिम पर्ने भएको बताइएको छ।
१० करोडमा ठेक्का सम्झौता गरेको सप्तकोसी जलाधार प्रालिले गत २४ जेठदेखि १२ असारभित्र विमानस्थलको ११ सय ९० मिटर धावनमार्ग कालोपत्रे गर्ने जिम्मा पाएको छ।
पानी परेकै बेला गरिएको रनवेको २५ मिटर कालोपत्रेको लेबल नमिलेको र ज्वाइन्ट तलमाथि परेको छ भने क्रंकिट र पिचको मिश्रणसमेत छुटेको छ। दिउँसो १ देखि बिहान ५ बजेसम्म काम नभएको समयमा गरिने मर्मत हेर्न नागरिक उड्ययन प्राधिकरणले चारजना छुट्टै प्राविधिक टोलीलाई जिम्मा दिएको छ।
सप्तकोशी जलाधारले पेटी ठेकेदारको रूपमा पप्पु कन्स्ट्रक्सनलाई प्रयोग गरेपछि रनवेको मर्मत कमजोर बन्ने अनुमान गर्न सुरु गरिएको छ। पानी परेका बेला काम रोक्ने गरेको बताउँदै मर्मतकै चरणमा भएका त्रुटिपूर्ण काम सच्याउँदै लैजाने निर्माण कम्पनीले जनाएको छ।