काठमाडौं। जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालामाथि अध्ययन गर्न जाँचबुझ समिति गठन गरिएको छ। न्याय परिषद्को बुधबार बसेको बैठकले न्यायाधीश कोइरालामाथि अध्ययन गर्न न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाई गरेको श्रव्य सामग्रीको सत्यताबारे अनुसन्धान गर्न उक्त समिति गठन गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।
छानबिन समितिमा न्याय परिषद् सदस्य श्रेष्ठ संयोजक, सदस्य पाटन उच्च अदालतका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र अर्का न्यायाधीश महेश शर्मा पौडेल छन्। परिषद्का प्रवक्ता कार्कीका अनुसार समितिलाई कार्य अवधि ४५ दिन दिइएको छ।
सहकारीबाट वचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका तामाङसहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइरालाले अधिवक्ता रुद्र पोखरेलसँग घुस लेनदेनको विषयमा कुराकानी गरेको अडियो सार्वजनिक भएकाे थियाे। अडियाे सार्वजनिक भएपछि त्यस विषयमा छलफल गर्न बुधबार न्याय परिषदको बैठक बसेको थियो । बैठकले न्यायाधीश कोइरालालाई न्याय सम्पादनमा पनि रोक लगाएको छ ।