काठमाडौं। करिब ३३ करोड लागतमा व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यवस्थापन गर्नको लागि ललितपुरस्थित ग्वार्को चोकमा दुई वर्षभित्र फ्लाइओभर निर्माण हुने भएको छ।
सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशकका अनुसार फ्लाइओभर निर्माणका लागि प्रारम्भिक रूपमा सातवटा कम्पनी छनोट भएका छन्। त्यस्तै छनोट भएका ७ कम्पनी मध्यै निश्चित मापदण्डभित्र रहे कुनै १ वटा कम्पनीलाई छनोट गरी एक महिनाभित्रै निर्माण सम्झौता हुने बताइएको छ। सो सम्झौतामा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने प्रावधान राखिने छ। निर्माणको अवधिमा कुनै बाधा अवरोध नआएमा दुई वर्षभित्रै फ्लाइओभर निर्माण हुने जनाएको छ।
फ्लाइओभर निर्माण गर्नको लागि अर्थ मन्त्रालयले ३३ करोड रुपियाँ बजेट सुनिश्चित गरेको छ। सो ठाउँमा फ्लाइओभर निर्माणका लागि यो भन्दा अगाडी नै विस्तृत परियोजना प्रतिवेदन डीपीआर जियोकम/बीडीए/रेज जेभीले तयार गरीसकेको छ।
त्यस्तै सडक विभागका महानिर्देशकले चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गरिने बताउँदैे सोही क्रममा ग्वार्को चोकमा पनि फ्लाइओभर निर्माण गर्न लागिएको बताएका छन्। उक्त फ्लाइओभरको कुल लम्बाइ ४ सय ५५ मिटर हुनेछ भने फ्लाइओभरको ग्राउन्ड क्लियरेन्स ६ मिटर र फ्लाइओभरको उचाइ ५/५ मिटरको हुनेछ।
सडकखण्डमा बढ्दै गएको सवारी चाप कम गर्न यो भन्दा अगाडी नै जापान सहयोग नियोग जाइकाले त्रिपुरेश्वरदेखि माइतीघरसम्म सीधा फ्लाइओभर बनाउने सुझावसहित प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। सो फ्लाइओभर निर्माण पश्चात त्रिपुरेश्वर, थापाथली र माइतीघरको जाम पूर्ण रूपमा हट्ने जनाइएको छ।