काठमाडौं। भारतको रामायाण सर्किट रेल बिहीबार अपरान्ह जनकपुरधाम आइपुगेको छ । करिब ५ सय धार्मिक पर्यटक बोकेर जनकपुर स्थित रेल्वे प्लेटफर्ममा रेल आइपुगेको हो ।
उक्त रेल धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुग्ने पहिलो रेल हो । रेलमा आएका धार्मिक पर्यटकहरुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । ‘भारत गौरव टुरिस्ट रेल’ अयोध्या, बनारस, प्रयागराज, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुगेको हो । रामायण सर्किटमा सञ्चालन हुने रेल जयनगरबाट नेपाल प्रवेश गरे लगत्तै ठाउँ–ठाउँमा फूलमालाले स्वागत समेत गरिएको छ । रामायण सर्किट जोडन विशेष रेल यात्रा दिल्लीबाट सुरु भएको हो ।
त्रेतायुगमा राम र सीताको विवाह भएको थियो । भारत अयोध्याका राजा दशरथका छोरा राम र जनकपुरका राजा जनककी छोरी सितासित विवाह भएको थियो । रामायण अध्यायमा उल्लेख गरिएका सबै ठाउँलाई धार्मिक पर्यटनलाई जोड्न भारत सरकारले रामायण सर्किट तयार पारेको छ । रामायण सर्किटमा नेपालको जनकपुरलाई पनि समेटिएको छ । ४ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा दुवै देशबीच रामायण सर्किट सम्झौता भएको थियो ।
जनकपुरमा पनि ब्रोडगेज रेल लिंक रहेकाले रामायण सर्किटको रेल सिधै जनकपुर आइपुगेको हो । पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराइने मधेस प्रदेशका पर्यटन मन्त्री सत्रुधन महतोले बताए ।