काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनका नेताले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को स्थलगत निरीक्षण गर्ने भएका छन्। शनिबार बिहान ९ बजे काठमाडौँबाट प्रधानमन्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा जान लागेको गठबन्धनका एक नेताले जानकारी दिए।
प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माण क्षेत्रको अवलोकनमा जान लागेका हुन् ।
वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माण क्षेत्रको भ्रमणमा जान लागेका हुन्।
भ्रमणपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने वा नबढाउने विषयमा सरकारले आवश्यक निर्णय गर्ने बताइएको छ । सर्वोच्च अदालतले गत बुधबार विमानस्थल सम्बन्धी मुद्दाको फैसला गर्दै निर्माण गर्ने जिम्मा सरकारको हातमा दिएको छ।
जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ। यता, निजगढका स्थानीयले भने निजगढमा नै विमानस्थल निर्माण गरिनु पर्ने भन्दै दबाब दिदै आएका छन् ।