काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आज (सोमबार)देखि हेलिकोप्टर (रोटर विङ्स)ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक सङ्घलाई तोकिएको आधार (अपरेटिङ बेस)अनुसार रातको समयमा उपत्यकाबाहिरको विमानस्थलमा पार्किङ गर्न निर्देशन दिएको थियो।
आन्तरिकतर्फका हवाई कम्पनीले गत १४ गतेदेखि मोफसलका विमानस्थलमा रात्रि विश्राम गरेर पहिलो उडान सुरु गरिसकेका छन्। आन्तरिकतर्फका १७ वटा विमान ९फिक्स विङ्ग०ले रात्रिकालीन बेसअनुरूप उडान सुरु गरेको एक सातापछि हेलिकोप्टर कम्पनीले समेत सोही नियमअनुसार सोमबारदेखि तोकिएकै बेसबाट पहिलो उडान सुरु गर्ने भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोमबारदेखि ११ वटा हेलिकोप्टर कम्पनीका ३८ वटा हेलिकोप्टरमध्ये १४ वटा हेलिकोप्टरले रात्रि विश्रामका लागि काठमाडौँबाहिर जानुपर्ने भएको छ। २४ वटा हेलिकोप्टरले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रात्रि विश्रामको सुविधा पाउने उनले बताए।
उनले भने, “हेलिकोप्टरको रात्रि विश्राम जहाजको जस्तो तोकिएकै विमानस्थलमा नहुन सक्छ। हेलिकोप्टरले सिजन र व्यवसायअनुसार उडान भर्नुपर्ने भएकाले सबै कम्पनीका गरेर काठमाडौँमा २४ र काठमाडौँबाहिर १४ वटा हेलिकोप्टर कम्पनीले रात्रि विश्राम गर्नुपर्ने नियम लागू गरिएको छ। गोरखापत्र दैनिकबाट