काठमाडौं। मुगुमा रारा जाने पदमार्ग निर्माण भएको छ। जिल्लाका सरोकारवाला निकायको सक्रियतामा रारातालमा जाने छोटो रारा पर्यटकीय पदमार्ग निर्माण भएको हो।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाइमा सो पदमार्ग निर्माण भएको हो। गमगढी बजारदेखि रारा जोडने छोटो पदमार्गमा रमणीय दृश्य अवलोकन गर्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको बताइएको छ।
पुरानो हिंड्दैगरेको बाटोबाट रारा तालमा पुग्न झन्डै दुई घण्टा समय लाग्ने भएपनि नयाँ पदमार्ग निर्माण भएपछि ताल पुग्न १५ मिनेट समय लाग्ने भएको छ।
नयाँ पदमार्ग बाटो लामाचौरदेखि रारातालसम्म पुग्न अब पैदल यात्रा गरेर २० मिनेटमा पुगिन्छ। सम्पन्न भएपछि छोटो समयमा त्यहाँ पुग्न सम्भव हुनेभएको हो। यसअघि पैदलयात्रामा करिब दुई घण्टा समय लाग्ने गरेको थियो।
बाटो खन्ने कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र बल, नेपाल रेडक्रस रारा मध्यवर्ती समितिको कार्यालयका प्रतिनिधि, जिल्ला नागरिक समाजका संयोजक, रारा राष्ट्रिय निकुञ्ज लगायत सरकारी कार्यालयका कर्मचारी गरी ७५ जनाले श्रमदान गरेका छन्।