काठमाडौं। नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गृहकार्य सुरु गरेको छ। गत साता सर्वोच्च अदालतले भरपर्दो वातावरणीय प्रभाव मूल्यांकन गर्न निर्देशन दिएसँगै क्यानले तयारी थालेको हो।
क्यानका निर्देशक बाबुराम पौडेलले सर्वोच्च अदालतको फैसलालाई आधार मानेर निर्माण प्रक्रिया यथाशक्य छिट्टै सुरु गर्ने तयारीमा रहेको जानकारी दिए।
उनले यसका लागि कार्ययोजना बनाउने काम सुरु गरेको बताए। निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा परेको मुद्दामा सर्वोच्चले अहिलेसम्मको सबै प्रक्रिया खारेज गर्दै नयाँ र विश्वासिलो वातारणीय प्रभाव मूल्यांकन (ईआईए) गरेर आवश्यकता र औचित्यका आधारमा मात्र निजगढ विमानस्थल अगाडि बढाउन आदेश दिएको थियो।
गत जेठ १२ मा उक्त फैसला दिए पनि त्यसको पूर्णपाठ बुधबार मात्रै आएको हो। पूर्णपाठमा अदालतले अहिलेसम्मका सम्पूर्ण प्रक्रिया खारेज गर्दै ईआईएका सम्पूर्ण प्रक्रिया पूरा गरेर आवश्यकता र औचित्यका आधारमा परियोजना अघि बढाउन सकिने बाटो खोलिदिएको छ। वातावरणीय प्रभाव मूल्यांकनका लागि विश्वासिलो समिति गठन गरेर काम गर्न भनेको छ।
लामो समयदेखि विवादमा रहेको यो परियोजना निर्माण गर्नु पर्छरपर्दैन भन्नेमा अझै मतमतान्तर छ। तर सर्वोच्चले प्रष्ट पारेपछि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्री र गठबन्धन दलका शीर्ष नेताहरुले शनिबार निजगढ पुगेर अवलोकन गर्नुको साथै जसरी पनि विमानस्थल बन्ने उद्घोष समेत गरेका छन्।