काठमाडौं। बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका जोड्ने दानव नदी पुल कर्साघाट निर्माण सकिएको छ। १३ करोड ९० लाख ३६ हजार रुपैयाँ लगानीमा १ सय २७ मिटर लामो पुल निर्माण भएको हो।
पुल निर्माणपछि अब बुटवल–१५ र सैनामैना–१ जोडिएका छन्। यसले कृषि उपज बजारसम्म ल्याउन विद्यार्थीहरू स्कूल‚ कलेज आउन सहज भएको छ। पुल नहुँदा सैनामैनाका किसानले सहज रुपमा कृषि उपज बजारमा ल्याउन सकेका थिएनन्।
संघीय सरकारको लगानीमा २०७४ असार २९ गतेदेखि पुल निर्माण थालिएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ।
पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सोमबार एक कार्यक्रमका बीच पुलको उद्घाटन गरेका छन्। पुल उद्घाटन गर्दै उनले विकासका काममा राजनीति नगर्न र विभाजित नहुन आग्रह गरेका छन्। विकासको प्रतिफल नागरिकले पाउने भएकाले कुनै पनि दलको राजनीतिक स्वार्थले विकास निर्माणको काममा अवरोध हुन नहुने बताइएको छ।