काठमाडौं। हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको काम पुनः सुरु हुने भएको छ। उक्त खण्डमा दुई वटा टावर राख्न नदिने अघिल्लो अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता नदिई रिट नै खारेज गरेपछि काम सुरु हुने भएको हो।
सर्वोच्चको असार १२ गते आइतबारको फैसलापछि नवलपरासीको दुम्कीवासस्थित दुई वटा टावर खडा गर्न नेपाल विद्युत प्राधिकरणलाई बाटो खुलेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार अदालको यो फैसलापछि उक्त क्षेत्रमा टावर राख्न सहजता भएको हो।
सर्वोच्च अदालतको फैसलापछि अव टावर राख्ने काम अघि बढाउन सहजता भएको छ। अब प्रकृया अघि बढेको छ । स्थानीयलाई क्षतिपूर्तिको व्यवस्था गरेर नै टावर राख्ने प्राधिकरणले बताएको छ। टावर राख्ने काम पनि सरकारको नियम, कानून अनुसार नै गर्नुपर्ने भएकाले केही दिन लाग्ने बताइएको छ। ‘
कूल २४४ वटा टावरमध्ये २४२ वटा टावरहरु निर्माण सम्पन्न भइसकेका थिए। यी दुई टावर निर्माण हुन नसक्दा आयोजना सम्पन्न हुन सकेको छैन। प्रसारण लाइनको विवादित उक्त क्षेत्र विनय त्रिवेणी गाउँपालिका वडा नं २ मा पर्दछ। सर्वोच्चको फैसला बमोजिम उचित क्षतिपूर्ति पाए मात्र टावर राख्न दिने स्थानीयलाई उद्दत गर्दै गाउँपालिकाले जनाएको छ।
लाइनको मार्ग गाउँमाथि नै पर्ने भएपछि स्थानीयले नेपाल विद्युत प्राधिकरणलाई अर्को बाटो प्रयोग गर्न आग्रह गरेका थिए। तर, प्राधिकरणले यहि नै उपयुक्त बाटो भएको जनाएपछि यो विषय सिर्वोच्चमा पुगेको थियो।
यही प्रसारण लाइन नभएका कारण विद्युत प्राधिकरणले २०७७ र २०७८ सालको वर्षायामको जगेडा बिजुली पूरै खेर फाल्नुपरेको थियो। २०७७ सालमा पाँच सय मेगावाट र २०७८ सालमा ६ मेगावाट बिजुली खेर गएको थियो।