काठमाडौं। नेकपा एमालेका सांसद डा.भीम रावलले सरकारले भित्रभित्रै अमेरीकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन्। बिहीवार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद रावलले यस्तो बताएका हुन्।
उनले कुनै न कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यक्ता रहेको बताए ।
सांसद रावलले सम्झौता अघि नबढाउने बारेमा मन्त्रीहरुले नै संसदमा स्पष्ट पार्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र नपठाउनु नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्नको लागि साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने चलखेल गर्न लागिएको बताए। उनले सत्ता पक्षकै सांसदले पत्र नपठाएको कुरा संसदमा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसको जवाफ दिन आवश्यक रहेको बताए।
उनले यत्तिको समय बितिसक्दा पनि पत्र नपठाउनु गम्भीर भएको बताए।
सांसद रावलले नेपालको परराष्ट्र नीति नेपालको संविधान बमोजिम नेपाल कुनै पनि देशको राजनीतिक र सामरिक गठबन्धनमा सामेल हुन नमिल्ने उल्लेख गर्दै कोही प्रधानमन्त्री वा सरकारले त्यो काम गरे जनता र देशमाथिको घात हुने बताए।