काठमाडौं। काठमाडौं महानगरपालिकाले र्याप गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ।आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी महानगरले बजेट विनियोजन गरेको हो।
महानगरपालिका स्रोतका अनुसार उक्त सालिक निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
महानगर प्रमुख बालेन शाहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै यमबुद्धको सालिक निर्माण गर्न लागिएको हो।
मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले र्यापर यमबुद्धले ‘नेपहप’लाई विश्वमाझ परिरिचत गराएर दिएको योगदानको कदर गर्दै यस्तो निर्णय गरिएको बताए।
उनले यमबुद्धलाई नेपाली युवापुस्ताका धेरै र्यापरले आफ्नो आइडल मान्ने र सम्मान गर्ने हुँदा महानगरले सम्मानस्वरुप सालिक बनाउने निर्णय गरेको बताए।
साहले यमबुद्धको सालिक कहाँ स्थापना गर्ने भन्ने तय भने भइनसकेको बताए। तर, यमबुद्धलाई नेपाली श्रोताले सम्झिरहने गरी सालिक स्थापना हुने साहले बताए।