काठमाडौं। कपिलवस्तु बाणगंगा नगरपालिकाको मोर्मीस्थित कोइली खोलामा मोटरेबल पुल निर्माण गरिएको छ। नगरपालिको वडा ८ र ९ जोड्ने सो खोलामा पुल निर्माण गरिएको हो।
पुलको अभावमा आवतजावत गर्न स्थानीयहरु काठे पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो। पञ्चायत कालदेखि पक्की पुलको माग गरेपनि सुनुवाई नहुँदा स्थानीयलाई सास्ती भएको थियो। लुम्बिनी प्रदेश सरकारले सो खोलामा मोटरेवल पुल निर्माण गरेपछि स्थानीयलाई सहज भएको नगरपालिकाले जनाएको छ।
उक्त पुल निर्माण भएपछि अर्घाखाँची जोड्ने दूरी समेत छोटिएको छ। लुम्बिनी प्रदेश सरकारले ४ करोड बढी रकमको लागतमा पुल बनेपछि बोडगाउँ हुुँदै अर्घाखाँची पुग्ने दूरी ८ किलोमिटर छोटो भएको छ।
बोडगाउँ जिनुवा हुँदै गोरुसिङ्गे सन्धीखर्क सडकखण्ड अन्तर्गत शितगंगा नगरपालिकाको डोहेटो पुग्नको लागि सहज भएको बताइएको छ। आर्थिक वर्ष ०७५–७६ बाट पुलको निर्माण सुरु भएको भएपनि अहिले आएर सम्पन्न भएको छ।